'अर्बमाथिको लगानी छ, प्याराग्लाइडिङ् उडिरहनेमा विश्वस्त छु'
पाेखरा | साउन ३, २०७९
पाेखरा: नेपाल हवाई खेलकुद संस्था (ना)का नवनिर्वाचित अध्यक्ष हुन् सुनिलबहादुर भट्टराई । युवावस्था सुरु भएदेखिनै पर्यटन सम्बन्धित व्यापार, व्यवसायमा संलग्न भट्टराइको काँधमा यतिबेला नाको समेत जिम्मेवारी थपिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै हवाई खेलकुद क्षेत्रमाथि कालो बादल मडारिन थालेको हो । विमानस्थल सञ्चालन हुने दिन जति नजिकिँदै छ, यससम्बद्ध व्यवसायीहरुको चिन्ता पनि बढ्दैछ । यही सेरोफेरोमा भट्टराईलाई सोधिएका ५ प्रश्नः
के हो हवाई खेलकुद संस्था (ना) ?
– पोखरामा स्थापना भएको ना मुलतः प्याराग्लाइडिङ्, अल्ट्रालाइटसँग सम्बन्धित क्षेत्रको खेल, पाइलट र व्यवसायी आबद्ध संस्था हो । अझ भनौ, समग्र हवाईखेलसँग सम्बन्धित सबैको प्रतिनिधिमूलक संस्था हो । जसको उद्देश्य संस्थाको वकालत गर्नु, हक–हितको पक्षमा आवाज उठाउनु र व्यावसायिक मर्यादा पालन गर्नु हो । र, ना पोखराको सम्पत्ति हो ।
यस क्षेत्रमा अनुमानित कति लगानी होला ?
– १ अर्ब रुपैयाँमाथि । यस व्यवसायमा नपत्याउँदो तरिकाले लगानी बढिरहेको छ । प्याराग्लाइडिङ्मा प्रयोग हुने सम्पूर्ण सामग्री विदेशबाटै आयात गर्नुपर्ने भएकाले लगानी बढी छ । २ वर्ष कोरानाले शिथिल बनाएपछि बीचमा व्यापार नै ठप्प भयो नत्र लगानीको ग्राफ अझ बढ्ने थियो ।
विशेषतः प्याराग्लाइडिङ्मा विदेशीले पनि पोखरा नै रोजेको पाइन्छ नी ?
– हो । विदेशीको आकर्षण बढी छ । विश्वकै उत्कृष्ट ३ मा पोखरा पर्छ । यसको मुख्य कारणः पहिलो त प्रकृति नै हो । त्यसपछि सुरक्षा । पोखरामा प्याराग्लाइडिङ् निकै सुरक्षित मानिन्छ । सुरक्षामा प्रकृतिको देन छ । त्यसो त यो क्षेत्रमा दुर्घटना खासै हुँदैन त्यसमाथि फेवातालकाकारण दुर्घटना भएपनि ज्यानै जानसक्ने सम्भावना न्यून छ ।
त्यस्तै, वर्षमा करिब ३ सय ५० दिन प्याराग्लाइडिङ् उडाउन सकिने मौसम पोखरामा छ । व्यावसायिक उडान भरिने टेन्डमको समय लगभग आधा घण्टा भएपनि सोलोका सौखिनलाई ४–५ घण्टासम्म उड्न मिल्छ । हामीले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीले गरेको प्रशंसाले पनि यहाँ आकर्षण बढाउँदै लग्यो, प्रचार भयो ।
नयाँ विमानस्थल संचालनपछि प्याराग्लाइडिङ अवरुद्ध हुने चर्चा छ नी ?
– चर्चामात्रै हैन, प्याराग्लाइडिङ् नै विस्थापन गर्ने कुरा भइरहेको छ । प्याराग्लाइडिङ् भनेको पोखराको विश्वविख्यात प्रडक्ट हो । नेपालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल जितेको खेल हो । यहाँ नयाँ विमानस्थलकाकारण यसलाई विस्थापित गर्न खोजिदैछ ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरामा पर्यटन बढ्छ । यसमा दुईमत छैन । विमानस्थल हाम्रो (पोखरेलीको) गर्वको योजना हो । हामी खुशी छौ । तर विदेशको अभ्यास हेर्दा अन्तर्राष्ट्रिय विमानस्थल भएको क्षेत्रमा पनि प्याराग्लाइडिङ् सञ्चालन भइरहेको छ । हामी पर्यटकको संख्या बढाउने, उनीहरुको बसाई लम्ब्याउने कुरा गरिरहँदा भएका प्रडक्टलाई हटाउँदै जाने नीति स्वीकार गर्न सक्दैनौं । हिजोको दिनमा ह्वाइटवाटर राफ्टिङ्को क्रेज थियो । जसै बिनायोजना हाइड्रोपावर कम्पनी खोल्न थालियो आज त्यो प्रडक्ट नै हराएजस्तो भएको छ ।
यसर्थ, ६५ सदस्य र ३ सय ७५ पाइलट आबद्ध भएको हवाई क्षेत्रलाई विस्थापन गर्ने हो भने भोली पोखरा घुम्न आउनेको संख्यासमेत प्रभावित हुनसक्छ । पोखराले ताल र हिमालमात्रै बेचेर पर्यटन उकालो लाग्दैन । त्यसैले सम्बन्धित निकायले सुक्ष्म अध्ययन गरी विमानस्थल र प्याराग्लाइडिङ दुबैलाई चलायमान गराउनुपर्छ ।
नागरिक उड्डयन प्राधिकरणले विकल्प खोज्न भनिसकेको छ । अब के गर्ने ?
– हामीसँग सम्बन्धित उडान क्षेत्र पोखराको उत्तर–पश्चिम क्षेत्र हो । पोखराको विमानस्थलमा पूर्वी र पश्चिम क्षेत्र प्रयोग हुन्छ । यहीबाट समस्याको समाधान खोज्न सकिन्छ । आकस्मिक अवस्थामा विमानलाई ‘होल्डिङ जोन’ चाहिए प्याराग्लाइडिङको उडान क्षेत्र चाहिनसक्छ भन्ने हो । तर यो लिस्ट एप्रोच अर्थात कम आवश्यक/सम्भावनाको कुरा हो ।
विमानस्थल आसपास विमानको उँचाई लगभग ५ हजार मिटरमा हुने भएकाले पनि हामीबाट असर हुने सम्भावना छैन । त्यस्तै विमानस्थलबाट उडान भर्दा ‘लेफ्ट टर्न’ गरियो भने पनि हामी विस्थापित हुँदैनौ । त्यसो त पूर्वपर्यटनमन्त्री योगेश भट्टराईको पालमा ना, पर्यटन मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयबीच भएको छलफलमा हामी विस्थापित हुनुपर्ने आधार देखिएको थिएन ।
त्यसेबला हामीले प्याराग्लाइडिङ्का यात्रुबाट टिकटमार्फत लिएको शूल्कको केही हिस्सा विमानस्थललाई दिने कुरा पनि गरेका थियौं । हामीले उपलब्ध गराउने पैसाले विमानस्थलको रिन तिर्न सघाउ पुगोस् भन्ने उद्देश्य पनि छ ।
अर्काे विकल्प भनेको आन्तरिक उडानलाई हामीबाट कुनै खतरा छैन । अन्तर्राष्ट्रिय उडानको सेड्युल भोलिदेखि नै ह्वात्तै बढ्ने पनि होइन । यसकारण हामीलाई उडान तालिका दिइयो भने हामी त्यसबाहेकको समय व्यवसायलाई निरन्तरता दिन्छौं ।
ना अझैपनि पर्यटन र व्यवसाय जोगाउन लागिरहेको छ । र, हाम्रो प्याराग्लाइडिङ् उडिरहनेमा हामी सम्पूर्ण आशावादी छौं ।
प्रस्तुतीः दिपक के श्रेष्ठ
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

